X (current)

घरमै बसेर खेतीबाली तथा कृषि उद्यमबारे नि:शुल्क सल्लाह लिन ‘किसान कल सेन्टर ११३५’

  Bikaspost   24 January, 2021


काठमाडौं, माघ ११ २०७७ –  ललितपुर खुमलटारमा रहेको नार्कको कार्यालयमा हरेक सोमबार दिउँसो २ देखि ४ बजेसम्म किसान कल सेन्टर सञ्चालन हुँदै आएको छ । धान, गहुँ, मकै बाली, माटोविज्ञ, पशु स्वास्थ्यका विज्ञ, किट विज्ञ, तरकारी खेती, घाँसबालीसहित झण्डै १० जना विज्ञको टोली हरेक हप्ताको सोमबार ‘किसान कल सेन्टर’मा बस्ने गरेका छन् ।

कल सेन्टर सञ्चालन भएको झण्डै तीन वर्ष भयो । नार्कले २०७४ चैतमा सुरु गरेको कल सेन्टरमा पछिल्लो समय किसानको सहभागिता बढ्दै गएको छ । नार्कको किसान कल सेन्टर ११३५ मा फोन गरेर नि:शुल्क रुपमा नै विज्ञको सल्लाह, सुझाव पाउन सकिने भएकाले खेतीबाली, पशुपालन तथा नयाँ उद्यमबारे आवश्यक जानकारी लिन सकिन्छ ।

किसानले धान, गहुँ, मकै जस्ता खेतीबाली, बीउबिजन, तरकारी खेती, कुखुरा तथा गाईभैँसी, भेडाबाख्रा पालन, घाँसबाली, मलखाद, रोगकिरा, कृषि प्रविधि तथा कृषि यान्त्रिकीकरणका विषयमा विज्ञसँग दोहोरो कुराकानी गर्न सक्छन् ।

साथै कसैले नयाँ कृषि व्यवसाय सुरु गर्नुभन्दा अगाडि आवश्यक जानकारी कसरी सुरु गर्ने, दर्ता कहाँ गर्ने, कस्तो बीउ तथा हावापानी छनौट गर्ने जस्ता जिज्ञासालाई पनि समेट्ने गरेको नार्क अन्तर्गत राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रले जनाएको छ ।

कहिलेकाहीँ किसानले राखेका समस्या या जिज्ञासालाई तत्काल समाधान दिन नसके प्रश्न टिपेर सम्बन्धित विज्ञसँग छलफल गरेपछि फोन गरेर पनि समाधानका उपायहरु दिने गरेको नेपाल कृषि अनुसन्धान परिषद् नार्क अन्तर्गत राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका निमित्त प्रमुख जीवन लामिछाने बताउनुहुन्छ ।

दुई घण्टामा धेरैभन्दा धेरै किसानलाई समेट्ने गरेको र एक जनालाई बढीमा १० मिनेटको समय छुट्टाएको पनि उहाँको भनाइ छ । ‘हरेक हप्ता सोमबार छुट्याएको दुई घण्टामा २५ देखि ३० जनासम्म किसानका समस्या र जिज्ञासा समेट्ने गरिएको छ’ केन्द्रका निमित्त प्रमुख लामिछानेले भन्नुभयो,‘यसका साथै किसानलाई समस्या पर्दा घरमै बसेर जुनसुकै बेला पनि कल गर्न सक्नुहुन्छ । अरु बेला आएका ती कल मिसकलका रुपमा बसेका हुन्छन् । सकेसम्म ती कलहरुलाई हेरेर पनि समेट्ने प्रयास गरेका छौँ।’

किसानले कल सेन्टरमा राख्ने रोगकिरा, बालीको अवस्था जस्ता विषयहरु विज्ञको टोलीले अन्दाजकै भरमा निवारण गर्दै आएको छ । अबका दिनमा कल सेन्टरमा आउने फोनको भरमा मात्रै नभएर भिडियो कलबाटै समाधान खोज्ने गरी प्रविधि विस्तार गर्ने योजना रहेको केन्द्रका निमित्त प्रमुख लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस