रुकुम जिप दुर्घटनामा ५ जनाको मृत्यु, १० घाइते
Bikaspost 25 May, 2023
रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -८, दुलीमा आज भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । सानीभेरी गाउँपालिका -५, हाँसुबाट मेलचौर हुँदै सदरमुकाम खलंगा तर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार दुर्घटनामा २२ दिनको बच्चा र आमा सहित ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको एकिन विवरण आइनसकेकाले सनाखत हुन बाँकी रहेको बताइएको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । गम्भीर ५ जना घाइतेलाई हेलिकोप्टर मार्फत नेपालगन्ज लगिएको छ । अन्य ५ जना सामान्य घाइतेलाई भने उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको प्रहरीले बताएको छ । १५ जना सवार रहेको जिप सडकबाट ४ सय मिटर तल खसेको छ । जिप ब्रेक फेल भएर दुर्घटनामा परेको बताइएको छ ।