X (current)

सञ्चारकर्मी बजगाईं सम्मानित

     13 September, 2018


भक्तपुर । शिक्षा तथा कानुनविद्हरुले मुलुकको समृद्धि गर्ने जिम्मेवारी सरकारको मात्र नभएर जिम्मेवारी लिएका सबै व्यक्ति तथा आम नागरिकको पनि भएको बताएका छन् । अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३९ औं राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर नेपाल राष्ट्रिय शिक्षक संगठन भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै सहभागिहरुले अब मुलुकको समृद्धि सरकार वा कुनै नेता विशेषले मात्र गरेर सम्भव नहुने भन्दै जिम्मेवारी लिएर पदमा बसेका र आम नागरिकले पनि सकारात्मक सहयोग गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा कानुनविद् एवम् पूर्व महान्यायाधिवक्ता प्रा.डा. युवराज संगौलाले कामको जिम्मेवारी लिएका जिम्मेवार व्यक्ति तथा संस्थाहरुले सरकारसँग अधिकार मात्र माग्ने काम गरेको तर आफुले पाएको जिम्मेवारीलाई गम्भिरताका साथ पुरा नगरेको भन्दै पहिला आफै बदलिनुपर्ने बताउनुभयो । उहाँले अर्कालाई दोष देखाएर मुलुकको समृद्धि सम्भव नभएकाले सरकारले मात्रै परिवर्तन गर्न नसक्ने उल्लेख गर्नुभयो । प्रा.डा. संगौलाले समृद्धिको यात्रामा सबै नेपालीको एकता आवश्यक रहेको औल्याउनुभयो ।
कार्यक्रममा नेपाल शिक्षक महासंघका केन्द्रिय अध्यक्ष बाबुराम थापाले शिक्षा सुधारका लागि शिक्षाबिद्हरुको सुझाव महत्वपूर्ण हुने भन्दै शिक्षा मन्त्रालय वा शिक्षा मन्त्री एक्लैले शिक्षा सुधार गर्न सम्भव नभएको बताउनुभयो । उहाँले शिक्षा ऐनमा सुधार आवश्यक रहेको भन्दै यसका लागि शिक्षासँग सम्बन्धित सरोकारवालाहरुसँगको छलफल आवश्यक रहेको उल्लेख गर्नुभयो । अभिभावक संघ नेपालका संरक्षक सुप्रभात भण्डारीले शिक्षामा सबैको पहुँच अभिवृद्धि गर्न सरकारले शिक्षामैत्री ऐन ल्याउनुपर्ने र शिक्षाको बजेट बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रिय अध्यक्ष धर्मदत्त देवकोटाले शिक्षामन्त्रीले सरोकारवालासँग सहकार्य नगरी एकलौटी ढंगबाट कार्य गरिरहेको आरोप लगाउनुभयो । उहाँले शिक्षामन्त्रीले एकलौटी रुपमा १४ वटा भारतिय बिद्यालयलाई स्विकृति दिएर नेपाली राष्ट्रियतालाई संकटमा पारेको बताउनुभयो । सो अवसरमा नेपाल शिक्षक संघका केन्द्रिय अध्यक्ष राजेन्द्रराज पौडेलले शिक्षाको विकास नै अन्य विकासको आधार भएकाले शिक्षकको क्षमता अभिवृद्धीमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले सरकारका कार्यगत शैलीलाई सतही रुपमा बिश्लेषण गरेर मात्र आलोचना नगर्न आग्रह गर्नुभयो । उहाँले विरोधका लागि बिरोध गर्ने प्रवृतिको अन्त्य गर्दै आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी पुरा गर्नु सबैको दायित्व भएको बताउनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन भक्तपुरका अध्यक्ष रामप्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख हरिप्रसाद दाहाल, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, नेपाल शिक्षक महासंघ भक्तपुरका अध्यक्ष गंगाधर हाडा, नेपाल बार एशोसियशन भक्तपुरका सचिव किरण न्यौपाने, गैसस महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाईं) लगायतले नागरिकका मौलिक अधिकार स्थापना गर्ने र शिक्षामा परिवर्तन गर्ने हो भने सरोकारवाला निकाय र नागरिक स्वयम सचेत बन्दै जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिनुभयो ।
सञ्चारकर्मी बजगाईं सम्मानित
कार्यक्रममा संगठनले सञ्चारकर्मी सोम शर्मा (बजगाईं)लाई सम्मानित गरेको छ । सञ्चार क्षेत्रमा योगदान पु¥याएको भन्दै सम्मानपत्र र दोसल्ला ओडाई उहाँलाई सम्मानित गरिएको संगठनका सचिव गोविन्द ढुंगानाले जानकारी दिनुभयो । बजगाईं हाल समय समाज साप्ताहिकका सम्पादक, नेपाल टेलिभिजनका सम्वाददाता र भक्तपुर एफ.एममा कार्यक्रम प्रस्तोताका रुपमा कार्यरत हुनुहुन्छ । कार्यक्रममा शिक्षा क्षेत्रको उन्नयनमा योगदान पु¥याएको भन्दै ४ जना शिक्षाकर्मीहरुलाई बिशिष्ट सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा प्रा.डा. युवराज संग्रौला, नेपाल इन्जिनियरिङ्ग कलेजका सञ्चालक डा. दिपक भट्टराई, शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा र शिक्षाकर्मी मृगेन्द्रराज सुवेदी हुनुहुन्छ । संगठनले शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पु¥याउने अन्य बिभिन्न व्यक्तिहरुलाई समेत सम्मानित गरेको छ ।

प्रतिक्रिया दिनुहोस