X (current)

सोमबारदेखि दोस्रो चरणको खोप लगाउने सरकारको तयारी

  Bikaspost   7 February, 2021


काठमाडौं, माघ २५ २०७७ – सरकारले भोलिदेखि दोस्रो चरणको खोप लगाउने तयारी गरेको छ ।

दोस्रो चरणको खोपका लागि दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले काठमाण्डौको सिभिल अस्पताल, शिक्षण अस्पताल, सहिद गंगालाल अस्पताल र ललितपुरको पाटन अस्पतालमा दोस्रो चरणको खोप लगाउने जानकारी दिएको छ । सिभिल अस्पतालमा पत्रकारलाई, पाटन अस्पतालमा यूएन एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई, शिक्षण अस्पताल महाराजगञ्ज र बा“सबारीमा रहेको सहिद गंगालाल अस्पतालमा दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति र विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई खोप दिइनेछ  । उनीहरूलाई भोलिदेखि शुक्रवारसम्म खोप लगाइसक्ने मन्त्रालयको तयारी छ । खोप लगाउन पत्रकारका लागि सूचना विभागबाट जारी प्रेस प्रमाणपत्र अनिवार्य गरिएको छ । खोपका लागि पहिलो चरणको जस्तो अनलाइनमार्फत सूचीकृत हुन भने नपर्ने मन्त्रालयले जनाएको छ ।

पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ । जसअनुसार प्रदेश नं १ मा २४ हजार २२४, प्रदेश नं २ मा २५ हजार ६३७, वाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जना छन् ।

मन्त्रालयले यही माघ १४ गतेदेखि पहिलो चरणमा कूल जनसङ्ख्याका तीन प्रतिशतलाई खोप लगाउनेमध्ये प्राथमिकतामा परेका व्यक्तिलाई खोप प्रदान गरेको थियो । खोप अभियान शनिबार सम्पन्न भएको थियो । मन्त्रालयले पहिलो चरणका लागि ल्याइएका खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने भएको छ । नेपालमा कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ । मन्त्रालयका प्रवक्ता डा गौतमले कुनै अवाञ्छित घटना नभई खोप अभियान सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस