X (current)

हिउँदे खडेरीबाट कृषक चिन्तित

  Bikaspost   31 January, 2021


पर्वत, माघ १८ २०७७ –झण्डै चार महिना लामो समयदेखिको खडेरीका कारण पर्वतमा हिउँदे खेती प्रभावित बनेको छ । गत असोजको दोस्रो सातादेखि वर्षा नभएपछि हिउँदे बाली लगाएका कृषक चिन्तित बनेका छन् । पर्वतका अधिकांश कृषक हिउँदे वर्षात् नहुँदा चिन्तित बनेका छन् । आकाशे पानीको भरमा हिउँदे खेती गर्दै आएका कृषकको गहुँ, जौँ, फापर र तोरीजस्ता बालीनाली प्रभावित भएका छन् भने वर्षा नभएकै कारण आलु तथा अन्य तरकारी खेतीमा समेत डढेलो तथा विभिन्न प्रजातिका किराको प्रकोप देखिन थालेको छ । गत असोजको अन्तिम सातादेखि नै वर्षात् हुनसकेको छैन ।

पानी नपरेपछि उर्बरा भूमि बाँझै छोड्नुपर्ने अवस्था आएको पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गकी लीलादेवी पौडेल बताउनुहुन्छ । पर्वतको कूल हिउँदे खेतीयोग्य जमिनमध्ये ३७ प्रतिशत मात्रै सिञ्चित क्षेत्र रहेको छ भने अन्य ६३ प्रतिशत खेतीयोग्य जमिन आकाशे पानीकै भरमा रहेको छ । अहिले हिउँदमा वर्षा नहुँदा कृषक मर्कामा परेको जिल्ला कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापा जानकारी दिनुभयो ।

गत वर्षको तुलनामा यस वर्ष हिउँदे बाली उत्पादनमा २० प्रतिशतभन्दा बढीले ह्रास आउने देखिएको उहाँले बताउनुभयो । विशेषगरी पर्वतको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, जलजला गाउँपालिका, महाशिला र विहादी गाउँपालिकामा यसको प्रभाव देखिएको छ । यस क्षेत्रमा धान खेती थन्क्याएसँगै गहुँ, आलु, तोरी, फापरलगायतका हिउँदे बाली लगाउने गरिन्छ । पैञ्यु गाउँपालिका र मोदी गाउँपालिका केही क्षेत्र भने सिँचाइ सुविधा भएका कारण हिउँदे बाली सोचेअनुरुप उत्पादन हुने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस