किसानलाई अलैंची खेतीबाट लागत पनि नउठ्ने चिन्ता
Bikaspost 26 January, 2021
धनकुटा-, माघ १३ २०७७ –कोरोना संक्रमण घट्दै जाने र भारतीय नाका सहज भइ अलैंचीको मूल्य बढ्ने आशामा रहेका धनकुटाका अलैंची किसान निराश छन् । उत्पादकमात्र नभइ व्यापारी समेत अलैंचीको मूल्यमा सुधार नभएपछि निराश बनेका हुन् । मुख्य सिजनमा धनकुटामा २० हजार प्रतिमन मूल्य रहेको अलैंचीमा भारतीय नाका खुला हुने र व्यापार सहज हुने आशाका साथ २७ हजार प्रतिमनसम्ममा कारोबार भएको थियो । तर, नाकाको अन्योलसँगै फेरि अलैंचीको मूल्य ओरालो लाग्न थालेपछि किसान तथा व्यापारीलाई चिन्ता थपिएको छ ।
कोरोना महामारी घटेसँगै भारतीय नाका सहज होला र भारतमा अलैंची पठाउन सकिएला भन्ने किसान तथा व्यापारीहरूको आशा थियो । अलैंची व्यवसायी संघ धनकुटाका अध्यक्ष इन्द्र तितुङ भन्छन्, “नाका नखुल्दा अलैंचीको मूल्य घट्न थालिसकेको छ, अहिले प्रतिमन २४ हजारमा झरिसक्यो ।छथर जोरपाटीका कृषक सुरेन्द्र लिम्बु केही वर्ष पहिला अलैंचीको मूल्य आकासिएको र यसले गर्दा किसानले बगान विस्तार गरेको बताउँछन् ।
अलैंचीको उचित मूल्यसँगै बजारको सुनिश्चतताको गर्नु आवश्यक भएको लिम्बु बताउँछन् । मसलाजन्य बालीअन्तर्गत पर्ने अलैंची खेती धनकुटाको करिब २ सय ४० हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ भने करिब ४ हजार ६ सय किसान अलैंची खेतीमा संलगन रहेको अलैंची व्यवसायी संघ धनकुटाले जनाएको छ । ‘कालो सुन’को नामले परचित अलैंचीको भाउ केही वर्षयता निरन्तर ओरालो लाग्न थालेपछि किसानले लागत खर्चसमेत उठाउन सकेका छैनन् ।
नेपालबाट भारत जाने अलैंचीमा विभिन्न नक्कली अलैंचीहरू मिसावट भएको पाइएपछि मूल्यमा गिरावट आएको तितुङले दाबी गरे । यसको मुख्य दोषी नेपालका ठूला अलंैची व्यापारी भएको उनको आरोप छ । उनी भन्छन्, “अब सरकारले अलैंचीको बजार भारतवाहेक तेस्रो देशमा विकल्प खोज्नुपर्ने बेला आएको छ ।” अलैंची लामो समयसम्म भण्डारण गर्न नसकिने भएकाले पनि किसानलाई चिन्ता थपिएको छ । यसको गुणस्तर क्रमशः घट्दै जान्छ । त्यसकारण भारतबाहेक अन्य देशमा बजार खोज्नु आवश्यक रहेको स्थानीय बताउँछन् ।