अग्रजलाई सम्मान र युवालाई नेतृत्व आजको अपरिहार्यता डा. सीता ढुंगाना
Bikaspost 17 January, 2026

समाज निरन्तर परिवर्तनशील छ । समयसँगै विचार, प्रविधि, आवश्यकता र चुनौतीहरू बदलिन्छन् । यस्तो परिवर्तित सन्दर्भमा समाजलाई सन्तुलित रूपमा अघि बढाउन दुई महत्वपूर्ण आधार आवश्यक पर्छन, त्यो हो अनुभवले भरिएका अग्रजहरूको मार्गदर्शन र ऊर्जाशील, नवप्रवर्तनशील युवाहरूको नेतृत्व । आजको युगमा “अग्रजलाई सम्मान र युवालाई नेतृत्व” भन्ने अवधारणा कुनै भावनात्मक नारा मात्र नभई व्यवहारिक र अपरिहार्य आवश्यकता बनेको छ । गत भदौमा भएको नवयुवाहरुको आन्दोलनको मुुल मुद्दा पनि यहि थियो । यसकै कारण आम जनताले सो आन्दोलनको समर्थन गरे यद्यपि उक्त आन्दोलनको घटना क्रमले देशको मुख्य संरचनागत धरोहरहरु खरानी भए । ७६ जना नवयुुवाहरुले सहादत प्राप्त गरे देशको लागि यो ठुुलो क्षति हो तर नवयुवाको मुद्दालाई कुनै हालतमा नजर अन्दाज गर्न मिल्दैन । राजनीति कुनै स्थिर प्रक्रिया होइन, यो समय, समाज र चेतनासँगै निरन्तर परिवर्तन हुने गतिशील अभ्यास हो । परिवर्तन सधैँ पुस्तागत शक्तिको सहकार्यबाट मात्र सम्भव भएको कुरा नेपाली राजनीतिक इतिहासले पनि देखाएको छ । आजको सन्दर्भमा “अग्रजलाई सम्मान र युवालाई नेतृत्व” भन्ने अवधारणा केवल नैतिक आग्रह मात्र पनि होइन, यो त राजनीतिक प्रणालीको दिगोपन, वैधता र प्रभावकारिताको लागि पुस्ताहस्तान्तरणको आधार हो । नेपाली राजनीतिमा अग्रजको ऐतिहासिक भूमिका नेपालको राजनीतिक आन्दोलन, प्रजातन्त्र स्थापना, निरंकुशता विरुद्धको संघर्ष, गणतन्त्रको घोषणा र संघीय संरचनाको स्थापना यी सबै प्रक्रियामा अग्रज नेताहरूको निर्णायक भूमिका रह्यो । जतिबेला उहाँहरु नवयुवा हुुनुुहुन्थ्यो र जनताले उहाँहरुलाई भरोसा गरेर साथ दिए फलस्वरुप हालका हाम्रा अग्रजहरु तात्कालिन समय सफल हुँदै आएका हुुन् । उहाँहरुले भोगेको जेलनेल, निर्वासन, दमन र त्यागले जनतामा राजनीतिक चेतना निर्माण गर्यो । उहाँहरुको यो अनुभव कुनै विश्वविद्यालयको पाठ्यपुस्तक भन्दा कम छैन । राजनीतिक दृष्टिले अग्रजहरू संस्थागत स्मृति हुन् । संविधान निर्माण, शक्ति सन्तुलन, कूटनीतिक संवेदनशीलता र राष्ट्रिय एकता जस्ता विषयमा उनीहरूको अनुभव अत्यन्त उपयोगी हुन्छ । अग्रजलाई सम्मान गर्नु भनेको उहाँहरूको योगदानलाई स्वीकार गर्नु, निर्णय प्रक्रियाबाट विस्थापित नगर्नु र राजनीतिक परामर्शको केन्द्रमा राख्नु हो । तर समस्या तब सुरु हुन्छ जब सम्मान स्थायित्वमा रूपान्तरण हुन्छ र स्थायित्व जडतामा बदलिन्छ । सत्ता र नेतृत्वमा देखिएको पुस्तागत असन्तुलन नेपाली राजनीतिमा आज एउटा गहिरो संरचनात्मक समस्या देखिएको छ । नेतृत्वको पुस्तागत जाम । दशकौँदेखि एउटै अनुहार, एउटै शैली र एउटै सोच नेतृत्वमा रहँदा राजनीतिक संस्थाहरू नवप्रवर्तनविहीन र जनताप्रति असंवेदनशील बन्दै गएको अनुुभुुति जनताले गरेका छन् र यो समस्या जनताले विभिन्न माध्यमबाट ओकल्न थालेका पनि छन् तर राजतीतिक दलहरुबाट नयाँ नेतृत्व तयार नहुुने वा तयार व्यक्तिहरुलाई दलहरुले अगाडी नसार्ने हुुँदै आएकोले जनताले विकल्प नभेटेको अवस्था पनि छ । उत्कृष्ट विकल्प पात्रहरु मौजुदा राजनीतिक दलहरुमा नभेट्दा जनता उही पुरानै नेतृत्वको भर पर्नुपर्ने वाध्यात्मक परिस्थिती वर्तमान समाजमा सृजित समस्या हो । आज नेतृत्वमा देखिएको पुुस्तागत असन्तुलनले युवाहरु आफ्नो भविष्य देशमा नरहेको जिकिर गर्दै माध्यामिक तहको अध्ययन सक्दा नसक्दै कसल्टेन्सी धाउने, श्रमिकहरु खाडी मुलुक पलायन हुने स्थिती झनझन स्थायित्व हुँदै गएको छ । राज्यको उत्पादन शुन्य कार्यसम्पादनले दैनिक उपभोग्य बस्तुदेखि विलासितासम्म देशको पैसा बाहिर गैराखेको छ भने राष्ट्रिय पुजीँ निर्माणमा हालको नेतृत्वको कुनै योजना नरहेको अवस्था छ । जनताले हस्पिटल देखि अदालतसम्म, यातायात देखि मालपोतसम्म, वडा कार्यलय देखि सिंहदरबारसम्म विना भनसुन काम गर्न नसक्ने स्थिती विकास हुुँदै आएको छ । यसरी जनताले पाइला पाइलामा भोग्ने समस्यालाई हेर्दा अग्रज नेताहरुको प्रणाली सुधारमा इच्छाशक्ती नै नभएको भन्दा पनि नयाँ ढंगले चुनौतीहरु सामाना गर्न नसकेको जस्तो देखिन्छ । लोकतन्त्रमा नेतृत्व परिवर्तन स्वाभाविक प्रक्रिया हो । तर जब अग्रज नेताहरू नेतृत्व हस्तान्तरणलाई कमजोरी ठान्छन्, तब युवापुस्तामा निराशा, पलायन र उनीहरुको वैकल्पिक राजनीतिप्रति आकर्षण बढ्छ । यही कारण आज परम्परागत राजनीतिक दलहरूप्रति युवाको विश्वास कमजोर बन्दै गएको छ । राजतन्त्रको विरोध गरेर राजा फालेका नेताहरुले राजाको भन्दा बढि समय काम गरिसकेका नेताहरुलाई विश्राम दिन युवापुस्ता तयार हुुनुुपर्ने आजको आवश्यक्ता हो । युवालाई नेतृत्वः राजनीतिक सुधारको मूल कुञ्जी युवापुस्ता केवल उमेरको समूह होइन, विचार, ऊर्जा र परिवर्तनको प्रतिनिधि शक्ति हो । आजको विश्व डिजिटल कूटनीति, प्रविधिमैत्री शासन, पारदर्शिता र परिणाममुखी राजनीतितर्फ अघि बढिरहेको छ । यस्तो अवस्थामा पुरानो शैलीबाट नयाँ चुनौतीको सामना गर्न सकिदैन । नेपाललाई यि चिजबाट विमुुख गराउनु भनेको फेरिपनि देशलाई अविकसित राष्ट्रको सुचिमै झार्नु हो । युवालाई नेतृत्व दिनु भनेको निर्णय तहमा वास्तविक पहुँच दिनु, नीति निर्माणमा सहभागिता गराउनु, जिम्मेवारीसहित उत्तरदायित्व सुम्पनु हो । जब युवालाई नेतृत्व दिइन्छ, राजनीति रोजगारी होइन, सेवा र दृष्टिकोणको माध्यम बन्छ । भ्रष्टाचार, ढिलासुस्ती र सत्ता मोहजस्ता समस्याको समाधान नयाँ पुस्ताको नैतिक साहसबाट सम्भव हुन्छ । पुस्ताबीचको द्वन्द्व कि रणनीतिक सहकार्य ? राजनीति द्वन्द्वले होइन, रणनीतिक सहकार्यले बलियो हुन्छ । अग्रजले नीति र दृष्टिकोण दिन्छन्, युवाले कार्यान्वयन र परिणाम दिन्छन् । यही संयोजन आधुनिक राजनीतिक संगठनको आवश्यकता हो । विश्वका सफल राजनीतिक प्रणालीहरूमा हेर्दा—अग्रजहरू “मार्गदर्शक” भूमिकामा र युवाहरू “नेतृत्वकर्ता” भूमिकामा देखिन्छन् । नेपालमा पनि यदि राजनीतिक दलहरूले संरचनागत रूपमा संरक्षक प्रणाली विकास गरे भने पुस्तान्तरण सहज र सम्मानजनक हुन्छ । संघीय लोकतान्त्रिक सन्दर्भमा युवाको आवश्यकता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा शासन प्रणाली अझै संस्थागत हुने क्रममा छ । स्थानीय तहदेखि संघसम्म नीति कार्यान्वयनमा कमजोरी, समन्वय अभाव र जनउत्तरदायित्वको संकट देखिन्छ । यी समस्या समाधानका लागि स्थानीय यथार्थ बुझ्ने, प्रविधिमा दक्ष र परिणामप्रति प्रतिबद्ध नेतृत्व अपरिहार्य छ । स्थानीय तहमा केही युवाहरूले देखाएको कार्यक्षमता, पारदर्शिता र नवप्रवर्तनले यो पुष्टि गर्छ कि उमेर होइन, क्षमता नेतृत्वको मापदण्ड हुनुपर्छ । सम्मानको पुनर्परिभाषा राजनीतिमा अग्रजलाई सम्मान भन्नाले सधैँ पदमा राख्नु होइन, आलोचनाभन्दा माथि राख्नु होइन, उत्तराधिकार रोकिनु होइन । बरु, सम्मान भनेको नीति र विचारको मूल्यांकन, अनुभवको संस्थागत उपयोग, सम्मानजनक भूमिका हस्तान्तरण हो । त्यसैगरी, युवालाई नेतृत्व दिनु भनेको अराजकता होइन, बरु नयाँ राजनीतिक संस्कारको निर्माण हो । निष्कर्षः राजनीतिक पुनर्जागरणको सूत्र “अग्रजलाई सम्मान र युवालाई नेतृत्व” नेपाली राजनीतिमा अब विकल्प होइन, राज्यकै अस्तित्वको प्रश्न बनेको छ । यदि राजनीतिक दलहरूले यो सन्तुलन मिलाउन सकेनन् भने उनीहरू जनताबाट अलग्गिनेछन् । सम्मान बिना परिवर्तन अस्थिर हुन्छ, र नेतृत्व बिना सम्मान निरर्थक हुन्छ । आज कांग्रेसका युुवा नेताहरुले गरेको आँटबाट क्रान्तिकारी प्रगतिशील भन्ने दलका युुवा नेताहरुले केही सिक्नुपर्दछ । हामी भित्रको पुुस्ता सन्तुलन र जनताको मागबाट टाढा भागेर मुुलुकले निकासा पाउँदैन । अनुभव र ऊर्जा, इतिहास र भविष्य, स्थायित्व र परिवर्तन यी सबैको समिश्रणबाट मात्र नेपालले जवाफदेही, सक्षम र भरोसायोग्य राजनीतिक नेतृत्व पाउन सक्छ । यही नै आजको राजनीतिक अपरिहार्यता हो ।
