X (current)

कोषे तरकारी बालीबाट भन्दा यस सिजनामा बन्दा र काउली जातका तरकारी विक्रिबाट किसानहरुले लिए निकै राम्रो आम्दानी

  Bikaspost   17 December, 2024


 

धादिङ ।  यस वर्ष धादिङका किसानहरूले बन्दा र काउली जस्ता तरकारी खेतीबाट निकै राम्रो आम्दानी गर्न सफल भएका छन् । गत वर्षको यस सिजनमा मुस्किलले दश देखी बाइस रुपैयाँ प्रतिकिलोमा बिक्री भएको काउली र बन्दाको मूल्य  अहिले पचास देखी सत्तरी पाउँदा किसानहरूमा खुसीको सीमा नै छैन । कोषे तरकारी बाली भन्दा यस वर्ष किसानहरूले बन्दा र काउली जातका हरियो तरकारीको बिक्रीबाट निकै राम्रो आम्दानी गर्न सफल भएको बताएका छन् । यसरी नै मूल्य कायम हुने हो भने त गत वर्षको घाटा समेत पूर्ति हुने किसानहरूको भनाई छ ।  जिल्लामा उत्पादन भएको काउली जातका  तरकारीको मूल्य अहिलेसम्मकै राम्रो पाएको भन्दै उनीहरू निकै खुसी भएका छन् ।गत सालको यस सजिनामा पाएको मूल्य भन्दा चार गुण धेरै मूल्य पाए पछि किसानहरूमा खुसीको सीमा नै छैन । आम्दानी समेत सोचे भन्दा यस वर्ष दुई गुणा धेरै हुने भनाई किसानहरूको छ । यसको प्रभाव समग्र जिल्लामा तरकारी बिक्री गरी हुने आम्दानीमा समेत निकै राम्रो पर्ने बुझाई तरकारी बिक्री गर्ने सहकारीहरूको छ ।

गत सालको यस सिजनमा दश देखी पन्द्र रुपैयाँ प्रति किलोमा किसानहरूले बिक्री गरेको हरियो बन्दाको मूल्य यस वर्ष भने सत्तरी रुपैयाँ बारीमा नै पाएको उनीहरूको भनाई छ । एउटै किसानले पाँच रोपनी जमिनमा गरेको बन्दा र काउली खेतीबाट मात्रै यस सजिनामा करिब छ लाख भन्दा धेरै रकम लिन सफल भएको र अझै बिक्री गर्न बाँकी नै रहेको भनाइ छ । यस वर्षको अहिलेको सजिनामा थोरै आम्दानी गर्ने पनि एक लाख पचास हजार देखी दुई लाखसम्म आम्दानी लिन सक्ने उनीहरू बत्ताउँछन् ।  गएको वर्षको यस सजिनामा बन्दाको भाउले सस्ता भएकोले गर्दा बिक्री मूल्यले उत्पादन खर्च र ढुवानी खर्च समेत नधाने पछि उनीहरूले त्यतिकै बारीमा नै जोतेर छाडिदिन बाध्य भएकोमा यस वर्ष त बेपारीले बारीमा नै यतिका धेरै मूल्य दिएको भन्दै दङ्ग छन् ।

भारतबाट आयातित तरकारी यस वर्ष निकै कम आएको र तराईका जिल्लाबाट पनि बन्दा र काउली जस्ता तरकारीहरूको उत्पादन  निकै कम भएकोले गर्दा जिल्लामा उत्पादन भएको बन्दा र काउली जस्ता हरियो तरकारी  निकै राम्रो मूल्य पाएको हो ।

प्रतिक्रिया दिनुहोस